ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ?

ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ?


केपी ओली हाम्रो जन्मभूमि नेपालका प्रधानमन्त्री हुन्, उनका धेरै कार्य शैली प्रति म बिमति राख्छु,सोसल मिडियामा उनले गरेका राम्रा कामको तारिफ र कमजोरीको म खुलेर बिरोध गर्छु, तर पनि बिमतिमा मैले गर्ने बिरोधमा शालीनता हुनैपर्छ नत्र त्यो बिरोध बिध्वंस जस्तै खतरा हुन्छ, त्यसले द्वन्दको बिजारोपण गर्छ भने अराजकता फलाउँछ।
दुई साता अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई अमेरिकामा कालो झण्डा देखाउने तथा ‘गो ब्याक मर्डरर’ भन्ने नारा लगाईएकोमा मैले लेख मार्फ़त बिरोध गर्दा केहीले मलाई बाबुराम भक्त पनि भनेका थिए भने धेरैले समर्थन समेत ब्यक्त गरेका थिए। मैले आफू बाबुराम भट्टराईको भक्त नभई देशको कुनै बेलाको कार्यकारी प्रधानमन्त्रीको समर्थनमा बोलेको थिएँ, जुन बाबुराम वा अरु जो सुकै पनि हुन सक्थ्यो।
दुई दिन अघिको मेरा एक मित्रले लेखेको स्टाटसलाई केही सम्पादित गरेर मैले शेयर गर्दा केही साथीहरुले मलाई देशको प्रधानमन्त्री ओलीको बिरोध गर्यो भनेर कडा प्रतिक्रिया दिने मात्र हैन अनफ्रेन्ड गर्ने समेत भेटिए। जसमा ओली र ट्रम्पको भेंटवार्ता बारे बिभिन्न बिम्बहरुको प्रयोग गरेर नेपाली राजनीतिको बिसंगति उल्लेख गरिएको थियो जसमा न कुनै असभ्य टिप्पणी थिए न त कुनै असान्दर्भिक। ती टिप्पणी कर्ता मध्ये केही त केही हप्ता अघि माधव नेपाल न्यूयोर्क आउँदा आयोजित एउटा अन्तरकृया कार्यक्रममा मलाई केही कडा पो बोल्ने हो कि भनेर निषेध नै गर्नेहरु थिए।
अर्को एउटा टिप्पणीमा प्रधानमन्त्रीको काम भन्दा कुरा बढी गर्ने बानीलाई ब्यंग गर्दै ‘सम्माननीय प्रधानमन्त्रीज्यू, ‘केही थान उखानहरु अंग्रेजीमा सिकेर आउनुहोला’ भन्दा केही साथीहरुले देशको प्रधानमन्त्रीको अपमान भो भन्ने देखि वाह वाह सही लेख्यौ भनेर भन्नु पनि भो। तर यो लेख पढ़े पछि मलाई ओली भक्त भन्न पनि बेर छैन।
हुन त म ओली भक्त नै हुन चाहन्थेँ तर उहाँका अभिव्यक्ति र कार्यशैली प्रति म पनि आम मान्छे जस्तै खुशी छैन।नाकाबन्दीका बेलाका सतीसाल बनेका ओलीज्यू दुई तिहाई मतादेश च्याँपेर पनि अहिले उत्तीसको रुख जस्तै कमजोर हुनुभएको छ तर म परदेशमा भएकोले मेरो देशको कार्यकारी प्रमुखको सम्मान र ईज्जत गर्नु मेरो दायित्व हो भन्ने कुरामा म सचेत छु।सोसल मिडियामा शालीन रुपमा आफ्ना असहमति प्रकाशन गर्नु मेरो बाध्यता थियो भने, त्यसबाट सिक्नुपर्ने काम प्रधानमन्त्रीकै थियो।तर जे भए पनि अरुको भूमिमा आफ्नै देशको प्रधानमन्त्रीको बिरोध कालो झण्डा देखाएर हैन फराकिलो मन गराएर गर्नुपर्छ भन्ने मेरो मान्यता हो किनकी अमेरिकनहरुले केपी ओलीलाई कुन पार्टीको प्रधानमन्त्री हो भनेर बुझ्ने छैनन्, कुन देशको कार्यकारीको बिरोध गरेको भनेर बुझ्छन्। जुन तपाईँ हामी सबैको प्रतिष्ठा संग जोडिएको हुन्छ।
ओली दुई तिहाई प्राप्त मतादेशका प्रधानमन्त्री हुन्, उनलाई यो गर्न सकिन, बिरोधीहरुले गर्न दिएनन्, मैले बिगारेको हैन, काम गर्न गाह्रो भयो भन्ने नैतिक अधिकार र बहाना छैन। शुरुबाती दिनहरुमा उद्घोष गरेका धेरै घोषणाहरु अहिले बिचमै हराउनु, निर्मला हत्याकाण्डमा राजनैतिक चलखेल भएर २ महिना भन्दा बढी समयसम्म अपराधी सार्वजनिक गर्न खुट्टा कमाउनु, नेता तथा कार्यकर्तामा पुरानै चुम्मा चाट र चाप्लुसी जारी रहनु लगायत केही मन्त्रीहरुका ग़ैरज़िम्मेवार कृयाकलाप जारी रहनु ओली सरकारका अकर्मण्यताहरु हुन्।
तर वर्तमान बिसंगतिका एक्लो कारक ओली होईनन्, बहुदलीय ब्यवस्था पछि पटक पटक सत्तामा बसेको नेपाली काङ्ग्रेस यसमा उत्तिकै ज़िम्मेवार छ।ओलीज्यू ब्यक्तिगत रुपमा लोभ, मोह र स्वार्थबाट टाढा होलान् तर उनका कार्यकर्ताको ठूलो जमात स्वार्थको राजनीति गर्छ।ती स्वार्थ समूहले कसरी प्रभाव पारेका छन् भन्ने ताज़ा उदाहरण डा. गोविन्द के.सी. को आन्दोलनमा लामो समय पछि देखाएको उदासीनता थियो, जसमा कांग्रेसको समर्थन राजनैतिक लाभका लागि र सरकारको उदासीनता स्वार्थ समूहको प्रभाव थियो।
ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ? ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ? Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

No comments:

Powered by Blogger.