बलात्कारको घटना गुपचुप मिलाउने एसपीलाई ‘प्रबल जनसेवाश्री पदक !’
काठमाडौँ, २० भदौ । बलात्कारको घटना गुपचुपमा मिलाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले ‘प्रबल जनसेवाश्री पदक’ पाएका छन् ।
प्रेमी र उनका साथी मिली इटहरी तरहराकी किशोरीमाथि बलात्कार गरेको घटनालाई मिलापत्र गराएको आरोप माझीमाथि थियो । उनी त्यसबेला जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुख थिए । उनै माझीलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदक दिएर सम्मान गरेकी हुन् ।
गत माघ २३ गते निलम्बनमा परेका माझीको ग्रेड रोक्का गरी तीन महिनापछि फुकुवा गरिएको थियो । उनी हाल डोटीमा कार्यरत छन् । गणतन्त्र दिवसका अवसरमा घोषणा भएका विभिन्न पदक र विभूषण राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा वितरण गरेकी थिइन् । समारोहमा ३ सय ४४ जनाले विभिन्न मानपदवी पाएका थिए ।
प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका उनै एसपी माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् । निलम्बन गरेको तीन महिनापछि प्रहरी प्रधान कार्यालयले एसपी माझीको ग्रेड रोक्का गरेर निलम्बन फुकुवा गरेको थियो । त्यसपछि उनलाई डोटीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो ।
अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहका एक अधिकारी बताउँछन् । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटाएको थिएन ।
पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना ‘गुपचुपु मा मिलापत्र गरेकोमा घटना भएको एक महिनापछि छानबीन भएको थियो । एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए ।
तत्कालीन प्रहरीको प्रदेश नं. १ का एआईजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो ।
छानबिन समितिको सिफारिसअनुसार, तत्कालिन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।
बलात्कारको घटना गुपचुप मिलाउने एसपीलाई ‘प्रबल जनसेवाश्री पदक !’
Reviewed by khagendra joshi
on
Thursday, September 06, 2018
Rating:

No comments: