मन्त्रीहरु फेरबदल हुने प्रचण्डको संकेत

काठमाडौं, १९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु फेरबदल गर्ने संकेत गरेका छन् ।
मंगलबार खुमलटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो समय जनतामा चरम निरासा छाएकाले त्यसलाई हटाउन गम्भीर कदम चालिने बताएका हुन् । सरकारका मन्त्री र अन्य सरकारका कामकारबाहीप्रति जनतामा असन्तुष्टि बढेको भन्दै उनले छिट्टै मन्त्रीहरु फेरबदल हुन सक्ने संकेत गरे ।
कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो भएको बताउँदै प्रचण्डले सरकारको समीक्षा सुरु भएको र अब केही कडा कदम चाल्नुपर्ने हुन सक्ने बताए ।
प्रचण्डले भने- ‘जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्ने खालको गतिविधि देखिएको छ भने अब हामीले स्टेप कुनै न कुनै चाल्नैपर्छ ।’
सरकारका काम कारबाहीलाई लिएर अहिले चर्चापरिचर्चा र आलोचना भइरहेको भन्दै उनले थपे-‘ देश वर्षौ पुरानो व्यवस्थालाई परिवर्तन गरी भर्खरै नयाँ संरचनामा गएको छ । नया संरचना भएकाले त्यहाँ सबै कुरा नयाँ बनाउनु पर्ने छ । व्यवस्था नयाँ, त्यसका नेतृत्वकर्ता नयाँ भएकाले सरकारका कामकारबाही जनताको अपेक्षा अनुसार प्रभावकारी हुन सकेका छैनन् । त्यसका लागि राम्रो काम गर्न नसकेका मन्त्री हेरफेर गर्ने, पुरक बजेट ल्याउनलगायतका जस्तो सुकै कदम चाल्ने तयारीमा छौं ।’
त्यस्तै, आफ्नो आसन्न दुई छिमेकी देश भारत र चीनको भ्रमणलाई लिएर शंका नगर्न पनि प्रचण्डले आग्रह गरे । उनले भने, ‘म अब छिट्टै भारत र त्यस लगत्तै चीन भ्रमणमा जाँदै छु । यो भ्रमण छिमेकीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउन केन्द्र हुने छ । हाम्रो पार्टीमा दुई वटा अध्यक्ष भएकाले मलाई नेकपाको अध्यक्षका नाताले उनीहरुले निम्ता दिए । मेरो भ्रमण सरकारलाई थप सहयोग विषयमा केन्द्रित हुने छ । यसमा कसैले शंका गर्नु पर्ने केही छैन ।
मन्त्रीहरु फेरबदल हुने प्रचण्डको संकेत
Reviewed by khagendra joshi
on
Tuesday, September 04, 2018
Rating:
No comments: