काठमाडौं, १२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दुई शीर्ष नेताहरूबीच ठूलो मतभेद चुलिएको छ । दुई शीर्ष नेताहरूबीच विवाद बढेपछि पार्टी विभाजनको चर्चा समेत हुन थालेको छ ।
काठमाडौंमा मंसिर ८ गते भएको जनसभामा विप्लव नआएपछि पार्टीभित्रको विवाद बाहिर आएको हो । नेकपाका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का गतिविधिबाट रुष्ट बनेका विप्लवले अन्तिम समयमा काठमाडौंको जनसभामा नआउने निर्णय गरेको स्रोतले जनाएको छ ।
त्यस अगाडि नेकपाले मंसिर ८ गतेको जनसभालाई विप्लवले सम्बोधन गर्ने भनेर प्रचार गरिएको थियो । जनसभाको तयारी प्रकाण्ड आफैले गरेका थिए ।
विप्लवले प्रकाण्डलाई आर्थिक विभागको जिम्मेवारी दिएका छन् । प्रकाण्डले चन्दा संकलनलाई अपारदर्शी बनाएपछि विप्लव रिसाएका छन् । प्रकाण्डको आर्थिक काण्डबाट विप्लव दिक्क रहेको एक नेताले बताए । ‘प्रकाण्ड आर्थिक मामिलामा अलिक लोभ गर्नु हुन्छ’, नेकपाको उच्च स्रोतले भन्यो, ‘प्रकाण्डले संगठन सुदृढीकरणमा पनि विप्लवलाई असहयोग गरिरहनु भएको छ ।’
यसैबीच, प्रकाण्डले अधिकांश जनवर्गीय संगठनहरूमा समानान्तर कमिटी बनाएका छन् । पत्रकारहरूको संगठनबाट उत्पन्न भएको विवाद अरु संगठनमा पनि देखा परेको छ ।
नेकपाको स्वास्थ्यकर्मीहरूको संगठनमा पनि समानान्तर कमिटी बनेको छ । युवा, विद्यार्थी, पत्रकार लगायतका जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनेका छन् ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले प्रमोद योगीलाई अध्यक्षमा निर्वाचित गरेको घोषणा गरेको थियो । त्यसको लगत्तै प्रकाण्ड समूहले टीका कँडेलको अध्यक्षतामा अर्को समानान्तर कमिटी बनाएको छ ।
युवा संगठनमा पनि बाबुराम राईलाई संयोजक बनाएपछि प्रकाण्डले असन्तुष्टि जनाएका छन् । युवा संगठनमा पनि विवाद छ । मजदुरहरूको संगठनमा पनि विवाद भएपछि अहिले विघटित अवस्थामा रहेको छ ।
प्रकाण्डले आफ्ना छोरालाई विद्यार्थी संगठनमा कोषाध्यक्ष बनाएका छन् । यो कुरा विप्लवलाई मन परेको छैन ।
प्रकाण्डले प्रहरीको हिरासतबाट बाहिर आएपछि विप्लवलाई असहयोग गर्दै आएका छन् । त्यस्तै भयो भने विप्लव र प्रकाण्ड अलग अलग बाटोमा जानेसम्मको तयारी भएको स्रोतको दाबी छ ।
साउन २२ गते प्रकाण्ड राजधानीबाट पक्राउ परेपछि प्रकाण्ड र विप्लवबीच विवाद भएको भनेर समाचार आएका थिए । विप्लवकै सूचनाका आधारमा प्रकाण्ड पक्राउ परेको चर्चा समेत भएको थियो । प्रकाण्ड कात्तिक ९ गते रिहा भएपछि विप्लवसँग झन् दुरी बढेको चर्चा छ । पछिल्लो समय विप्लवले प्रकाण्डलाई शुरुवाती दिनमा जस्तो विश्वास गर्दैनन् ।
महासचिव विप्लवले प्रकाण्डलाई मकवानपुरबाट काठमाडौं नजान दवाव दिएका थिए । तर, अटेर गरेर काठमाडौं आउँदै गर्दा प्रकाण्ड दक्षिणकालीबाट पक्राउ परेको स्रोतले जनाएको छ ।
यी हुन् विप्लवलाई टक्कर दिने नेता, पार्टीभित्र काण्डैकाण्ड
Reviewed by khagendra joshi
on
Tuesday, November 27, 2018
Rating:

No comments: