एसियन गेम्सको पाराग्लाइडिङमा नेपाललाई रजत
१३ भदौ, काठमाडौं । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ ।
नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो ।
क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।
पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो । यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।
पाँच चरणमा हुने प्रतिस्पर्धामा बुधबार पाँचौ चरण सकिएको हो । नेपाल पहिलो चरणमा तेस्रो स्थानमा रहेको थियो । दोस्रो चरणमा पनि तेस्रो स्थानमा नै रहेको नेपाल तेस्रो चरणमा चौथो स्थानमा पुगेको थियो ।
मंगलबार भएको चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा पुगेपछि पदक लगभग पक्का भएको थियो । स्वर्णकै सम्भावना रहेको भए पनि अन्तिम चरणको खेलमा पनि जापानभन्दा पछि रहेपछि नेपालले रजत पदक जितेको हो ।
प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । यस्तै मेन्स टिम एक्युरेसीमा नेपाल आठौं भएको थियो ।
एसियन गेम्सको पाराग्लाइडिङमा नेपाललाई रजत
Reviewed by khagendra joshi
on
Wednesday, August 29, 2018
Rating:

No comments: