भारतीय माओवादीलाई नेपालबाट हतियार सप्लाई, कसले गर्छ यो धन्दा ?

महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले शुक्रबार पत्रकार सम्मेलन गरेर नेपालबाट भारतीय माओवादीलाई हतियार आउने गरेको बताएका हुन् ।
‘भारतीय माओवादीहरूलाई नेपालबाट हतियार सप्लाइ हुने गरेको छ’, उनले भनेका छन्, ‘जम्मुकाश्मीरका पृथकतावादीहरूले पनि हतियार उपलब्ध गराउँदै आएका छन् ।’
भारतीय माओवादीका नेता तथा समर्थकहरू रोना विल्सन, सुरेन्द्र गाडलिंग, सुधीर ढबले, शोमा सेन र महेश राउत पक्राउ परेपछि उनीहरूको कोठाबाट बरामद भएको दस्तावेजले अरु थुप्रै गोप्य कुराहरू खोलेको महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले बताएका छन् । सिंहले नेपालका सप्लायर्सले हतियार भारतीय माओवादीलाई दिएको बताए पनि उनीहरूको नाम खोलेका छैनन् ।
यद्यपि भारतीय सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नक्सलाइट माओवादीलाई हतियार दिने गरेको आरोप लगाउँदै आएको छ ।
झण्डै दुई महिनाको तयारीपछि महाराष्ट्रा पुलिसले नक्सलाइट माओवादीका नेताहरू बस्ने घरमा अप्रिल १७ तारिखमा छापामारेको थियो । पक्राउ पर्नेमा अधिकांश माओवादी नेताहरू प्रोफेसर, वकिल लगायतका क्षेत्रमा काम गर्दै आएका थिए ।
उनीहरूले निर्वाचित सरकारलाई हटाएर नयाँ सरकार बनाउन खोजेको भनेर आरोप लगाइएको छ । उनीहरूका विरुद्ध देशद्रोहको अभियोगसहित अदालतमा मुद्दा दायर भएको इण्डिया टिभीले जनाएको छ ।
भारतीय माओवादीलाई नेपालबाट हतियार सप्लाई, कसले गर्छ यो धन्दा ?
Reviewed by khagendra joshi
on
Friday, August 31, 2018
Rating:
No comments: