बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस

बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस
सुर्खेत, १५ भदौ । कर्णाली प्रदेश सरकारले विसं २०७१ का बाढीपीडित बस्तीमा पुगेर शुक्रबार श्रम दिवस मनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी वीरेन्द्रनगर नगरपालिका–६ स्थित बाढीपीडित बस्तीमा तारजाली भर्न आफैं जानुभएको थियो ।
जोखिमयुक्त बस्तीमा धनजनको क्षति नहोस् भनेर सरकारले आज बाढीपीडित बस्ती छेउको खोर्के खोलामा काम गरेर श्रम दिन मनाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो । जनतालाई सरकारनजिक छ भन्ने अनुभूति गराउन र उनीहरु स्वयंलाई पनि यो कामप्रति हाम्रो दायित्व छ भन्ने बनाउन सरकारले महिनामा दुई दिन श्रम दिवस मनाउँदै आएको र यो निरन्तर अघि बढ्ने उहाँले बताउनुभयो ।
सरकारका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले प्राकृतिक विपत्बाट हुने जोखिमलाई कम गर्न प्रदेश सरकारले पूर्वसावधानीका साथ काम गरेको बताउनुभयो । “समाजमा आइपर्ने प्राकृतिक तथा मानवीय विपत्प्रति सरकार संवेदनशील छ,” उहाँले भन्नुभयो, “श्रम दिवसले यो प्रदेशका जनतालाई नै जिम्मेवार बनाउँदै लैजाने प्रयास गरेको छ ।”
यता सामाजिक विकासमन्त्री दल रावलले नगरपालिका–६ स्थित बाढीपीडित बस्तीको सरस्वती टोलका बालबालिकालाई ध्यानमा राखेर बालविकास केन्द्र स्थापनाका लागि रु पाँच लाख सहयोग गरिएको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्राकृतिक विपत्ति र विभिन्न समस्याबाट प्रभावित जनतालाई लक्षित गरी गरीबमैत्री कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो
बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस  बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस Reviewed by khagendra joshi on Friday, August 31, 2018 Rating: 5

No comments:

Powered by Blogger.