देश बनाउन कस्सिए युवा, दक्षिण एसियाकै पहिलो ‘स्काइवाक टावर’ काठमाडौंमा निर्माण हुने


देश बनाउन कस्सिए युवा, दक्षिण एसियाकै पहिलो ‘स्काइवाक टावर’ काठमाडौंमा निर्माण हुने

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली समृद्ध नेपाल बनाउने अभियानमा छन्। ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी’ नेपालीको नारालाई आत्मसात गर्दै अघि बढिरहेको छ। सरकार समृद्धिको पथमा अघि बढिरहेका बेला प्रवासमा रहेका युवाहरु देशमै केही गर्न स्वदेश फर्किन थालेका छन्। यसैक्रममा अमेरिकामा रहेका युवाको एक समूह प्रधानमन्त्री ओलीको अभियानलाई सफल बनाउन स्वदेश फर्किएको छ।
उनीहरुले वन्डर्स नेपाल नामक संस्था खोलेर दक्षिण एसियामै नभएको परियोजनाको घोषणा गरेका छन्। वन्डर्स नेपालमा इन्जिनियर आकर्षण पोखरेल अध्यक्ष छन्। त्यस्तै लोकनाथ अधिकारी, विष्णु काप्री, खेमराज न्यौपाने, हरि गैरे, तेजबहादुर सिंह र गजेन्द्र थपलिया सदस्य छन्। अधिकारीको नेतृत्वको यो टिमले काठमाडौंको कमलादीमा दक्षिण एसियाकै पहिलो ‘स्काईवाक टावर’ निर्माण गर्ने घोषणा गरेको हो।
वन्डर्स नेपाल प्रालिले भर्खरै २ सय करोड रुपैयाँको यो परियोजनाको स्केच भिडियो समेत सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा यो परियोजनालाई आगामी ३ वर्षभित्र सञ्चालनमा ल्याउने जानकारी दिइयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थापक सदस्य लोकनाथ अधिकारीले समृद्ध नेपाल बनाउने अभियानमा साथ दिन आफूहरु आएको बताए। उनले भने, ‘स्वदेशमै केही गर्न सकिन्छ भनेर आएका छौं। नयाँ नयाँ परियोजना हामीसँग छन्। विस्तारै अघि बढाउँछौं।’ उनले अाफूहरूकाे याेजनामा प्रधानमन्त्रीदेखि सम्पूर्ण राज्यकै पूर्ण सहयाेग पाइरहेकाे भन्दै अागामी दिनमा अझै सशक्त भएर अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा वन्डर्स नेपालका सदस्य सन्जिव रोकाहाले ‘स्काईवाक टावर’लाई समृद्धिको स्तम्भको पहिचानको रुपमा काठमाडौंको मुटुमा ठड्याउने बताए। ‘स्काईवाक टावर’ निर्माणपछि काठमाडौंमा २० देखि ३० प्रतिशतसम्म पर्यटक बढ्ने उनले दाबी गरे।
वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलका अनुसार राजधानीको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी क्षेत्रफलमा सिसाको विशाल टावर बन्ने छ। २ अर्ब लागतमा सिसाको टावर बनाउन कम्पनीले २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ। ‘स्काईवाक टावर’को शिलान्यास आगामी मंसिरमा हुनेछ। स्काईवाक टावरमा दिनमा ६ हजार जना चढ्न सक्छन्। सुरुवातमा एक हजार चढाउने लक्ष्य छ आयोजकको।
टावर निर्माणमा स्ट्रगेस क्यानाडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार रहेका छन्। सिसाको टावरमा पार्किङ, हेल्थ क्लव, रेष्टुरेण्ट, स्विमिङ पुल, एयर रेष्टुरेन्ट, पसल र एयर क्वल सञ्चालन हुने अध्यक्ष पोखरेलले जानकारी दिए।
सरोकारवालाको साथ
कार्यक्रममा सरोकारवालाले परियोजना सफलताको शुभकामना दिए। नेकपाका नेता राजन भट्टराई, कांग्रेसका उमेश श्रेष्ठ, भीमसेनदास प्रधान, प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित, पूर्व अर्थमन्त्री रामशरण महत, खेलकुदमन्त्री जगत विश्वकर्माले यो परियोजनाले देशको आर्थिक समृद्धिको अभियानमा टेवा पुग्ने बताए।
पूर्वअर्थमन्त्री महतले परदेशमा सीप सिकेर देश विकास र समृद्धिका लागि भिजन लिएर आएकोमा धन्यवाद ज्ञापन गरे। ‘यो परियोजना देशकै नमुना हो। दुई वर्षमै सम्पन्न गरेर ३ वर्षमा अपरेशनमा ल्याउने भनिएको छ। समयमै सक्यो भने अर्काे नमुना हुन्छ। किनकी हाम्रो देशमा समयमै कुनै काम हुँदैनन्’, उनले भने। महतले भविष्यमा आउनसक्ने ट्राफिक जामलाई ध्यान दिन पनि आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
खेलकुद मन्त्री विश्वकर्माले ‘स्काईवाक टावर’ निर्माणमा सरकारबाट पूर्ण सहयोग हुने भन्दै सरकारी निकायसँग परामर्श गरेर अगाडि बढाउन सुझाव दिए। ‘देश बनाउने नेपालीले नै हो। साँझा संकल्पबाटै देश समृद्ध हुने हो’, उनले भने। गौरव गर्न सक्नेगरी निर्माण कार्यलाई समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।
‘सरकारको २० लाख पर्यटक ल्याउने अभियानलाई सहयोग गर्छाैं’

वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले ‘स्काईवाक टावर’को निर्माणले पर्र्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। ‘सरकारले २० लाख पर्यटक पु-याउने भनेको छ। त्यो लक्ष्यलाई यसले सहयोग गर्छ’, उनले भने। पोखरेलले वन्डर्स नेपाल संसारमा सम्भव भएको तर नेपालमा नभएको परियोजनाहरु अघि बढाउने पनि बताए। उनले ‘स्काईवाक टावर’ शिलान्यासकै दिन अर्काे ठूलो परियोजनाको घोषणा गरिने पनि बताए। अध्यक्ष पोखरेलले आफूहरुको योजनालाई सम्मान गर्दै जग्गा उपलब्ध गराउने शान्तिकुञ्जका जग्गाधनी विनोदविक्रम सिंहलाई धन्यवाद दिए।

     

MORE  POST YOU CAN READ

देश बनाउन कस्सिए युवा, दक्षिण एसियाकै पहिलो ‘स्काइवाक टावर’ काठमाडौंमा निर्माण हुने देश बनाउन कस्सिए युवा, दक्षिण एसियाकै पहिलो ‘स्काइवाक टावर’ काठमाडौंमा निर्माण हुने Reviewed by khagendra joshi on Monday, October 15, 2018 Rating: 5

No comments:

Powered by Blogger.