नेताको दसैं : कोही शोकमा, कोही तीर्थाटनमा

नेताको दसैं : कोही शोकमा, कोही तीर्थाटनमा


काठमाडौं :दसैंको माहोल सुरु भइसक्यो। यसको रौनकताले सबैलाई छोइसक्यो पनि। घरभन्दा टाढा हुने अधिकांश दसैंको टीका थाप्न घर फर्किन थालेका छन्। सधैं व्यस्त हुने नेताहरूको दसैं कस्तो होला ? सबैका लागि चासोको विषय हो।
दसैंका बेला सरकारले फूलपातिदेखि टीकाको भोलिपल्टसम्म पाँच दिन सार्वजनिक बिदा दिएको छ। त्यसैले प्रधानमन्त्रीदेखि मन्त्रीहरू प्रशासनिक कामबाट फुर्सदिला बन्छन्। प्रधानमन्त्रीले दसैं काठमाडौंमै मनाउने कार्यक्रम छ। दसैंको अघिल्लो दिन गृहजिल्ला झापामा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनी कात्तिक १ गृहजिल्ला झापामै दसैंका टीका थाप्नेछन् भने जिल्लाका कार्यकर्तासँग दसैं मनाउने भएका छन्।
गृहमन्त्री रामबहादुर थापा गृहजिल्ला चितवन जाने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दसैं काठमाडौंमै हुने उनका भतिजा भानु देउवाले बताए। ‘परिवारसँगै सामान्य रूपमा निवासमै दसैं मनाइन्छ, टीका थाप्न आउनेलाई उहाँले टीका लगाइदिनुहुन्छ, त्यस्तो विशेष केही छैन’, उनले भने।
पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने यस वर्ष दसैं मनाउने छैनन्। अघिल्लो वर्ष छोरा गुमाएका उनी शोकमै छन्। छोरा प्रकाशको निधन भएको वर्ष दिन नपुगेकाले दाहालको घरमा दसैं हुनेछैन। तर सधैं राजनीतिक दौडधुपमै व्यस्त हुने दाहाल यस पटक दसैंमा निवासमै परिवारसँग बिताउने योजनामा छन्।
नेकपाकै अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि दसैंमा काठमाडौं रहने उनका स्वकीय सचिव नीतेश पौडेलले जानकारी दिए। ‘काठमाडौंमै दसैं मनाउने कार्यक्रम छ, दाजु (साइलो बुबाको छोरा)को हातबाट टीका थाप्नुहुन्छ। त्यसपछि नेता–कार्यकर्तासंग शुभकामना आदानप्रदानको कार्यक्रम छ’, उनले भने।
नेकपा महासचिव विष्णु पौडेल भने दसैंका बेला गण्डकी प्रदेशको राजधानी पोखरामा हुनेछन्। सपरिवार उनले पोखरामै दसैं मनाउनेछन्। नेता नारायणकाजी श्रेष्ठ फूलपातीका दिनसम्म गोरखामा रहनेछन् भने त्यसपछि एक दिन बारा जाने र दसैं भने काठमाडौंमै सामान्य रूपमा मनाउने कार्यक्रम छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको दसैं भने अरू नेताको भन्दा बेग्लै छ। उनी लामो तीर्थयात्रामा जाने भएका छन्। असोज ३१ गते पौडेल भारतको गया पुग्नेछन् भने कात्तिक ३ देखि १० गतेसम्म हरिद्वार, केदारनाथ, बद्रीनाथ र ऋषिकेश पुग्ने कार्यक्रम रहेको परिवारले जानकारी दिएको छ। धर्मपत्नी र छोरा चिन्तनसहित पौडेल तीर्थाटनमा जाने भएका हुन्।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले काठमाडौंमा दाइ प्रकाश कोइरालाको हातबाट टीका थाप्नेछन्। ‘साइतमा दाइको हातबाट उहाँले टीका लगाउनुहुन्छ, त्यसपछि अर्का दाइ ज्योति कोइराला र दिदी सुजाता कोइरालाको हातबाट टीका लगाउने कार्यक्रम छ’, महामन्त्री कोइरालाका स्वकीय सचिव सुरज उप्रतीले भने।
राप्रपाका अध्यक्ष कमल थापाले काठमाडौंमै दसैं मनाउँदै छन्। उनले दाइ नेत्रबहादुुरको हातबाट टीका थाप्नेछन्। राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा भने दसैं मनाउन देशबाहिर जाने भएका छन्। उनी फूलपातिको दिन भारतको राजधानी नयाँ दिल्ली जाने उनका स्वकीय सचिव केशव कटुवालले जानकारी दिए। ‘उहाँको परिवार दिल्लीमै छ, सधैं उतै जाने गर्नुहुन्छ टीका लगाउन’, उनले भने, ‘पूर्णिमाको अर्काे दिन मात्र काठमाडौं फर्किनुहुन्छ।’
राजपाका अध्यक्ष महन्थ ठाकुर पनि दसैंका बेला गृहजिल्ला महोत्तरीमै हुनेछन्। उनी गृहजिल्ला लागिसकेका छन्। कार्यकर्तासँग भेटघाट गर्ने र दसैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

     

MORE  POST YOU CAN READ

नेताको दसैं : कोही शोकमा, कोही तीर्थाटनमा नेताको दसैं : कोही शोकमा, कोही तीर्थाटनमा Reviewed by khagendra joshi on Monday, October 15, 2018 Rating: 5

No comments:

Powered by Blogger.